काठमाडौं । प्रहरीले मिटरब्याज पीडितमाथि सोमबार गरेको दमनको विरोधमा बृहत् नागरिक आन्दोलनले शान्तिवाटिदेखि संसद् भवन बानेश्वरसम्म प्रदर्शन गरेको छ । सोमबार मिटरब्याज पीडतमाथि शान्तिवाटीमा प्रहरी दमन गर्दा ४३ जना घाइते भएका थिए । पीडितहरूको टाउको र हात भाँचिएको थियो।

प्रहरीले गरेको अनावश्यक, निर्मम र अमानवीय दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रदर्शन गरिएको हो।

दमनका दौरान प्रहरीले शान्तिवाटिकाको पर्खालभित्र थुनेर अश्रुग्याँस र पानीको फोहोराले प्रहार गर्दै पीडितमाथि लाठी बर्साएको थियो । शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनका निम्ति शान्तिवाटिकाबाट निस्कन लागेका महिलाहरूलाई लछारपछार गरेर, किसान-मजदुरलाई टाउकोमा ताकेर प्रहरीले लठ्ठी प्रहार गरेको थियो ।


शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट गरेको थियो । ‘नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले शान्तिवाटिकामा भएको किसानका भान्छामा क्षति पनि पुर्यायो। यो घटना गम्भीर मानव-अधिकारको हनन् हो । यसरी मानव-अधिकार उलंघन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गर्दछौं,’ बृह्त नागरिक आन्दोलनले विज्ञप्ति निकाल्दै भनेको छ, ‘एकातिर मिटरब्याजजस्तो अत्याचारी र अलोकतान्त्रिक व्यवस्थाको चरम शोषण र आतंकमा मजदुर किसानहरू छन्। अर्कोतिर उनीहरूको न्यायको संघर्षमाथि नै निर्मम दमनमा उत्रेर सरकारले मानव-अधिकार र लोकतन्त्रिक मान्यताको ठाडो उलंघन गरेको छ।’


त्यस्तो गम्भीर विषयमा राजनीतिक दल, जिम्मेवार संघसंस्था र विभिन्न आयोगले देखाइरहेको उदासीनता समेत उदेकलाग्दो रहेको जनाएको छ ।























