काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि छिमेकी मुलुक भारत प्रस्थान गर्नु भएको छ । श्री एयरलाइन्समार्फत भारतको नयाँ दिल्ली लगिएका राष्ट्रपति पौडेलको उपचार एम्स हस्पिटलमा हुने शीतल निवास स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेललाई विदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि भारतीय राजदूत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि ६ दिन अघि मात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुग्नु भएको थियो । तर, स्वास्थ्य समस्या बढेपछि उहाँलाई मंगलबार बिहान फेरि अस्पताल भर्ना गरिएको थियो ।
राष्ट्रपति पौडेललाई भारत लैजान शिक्षण अस्पताल महाराजगन्जबाट एम्बुलेन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो ।