काठमाडौं । भारत उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्वसांसद अतीक र उनका भाइको हत्या भएको पुष्टि गरेको छ ।
बयानका लागि प्रयागराज ल्याइएका दुवैको मेडिकल जाँच गराउन अस्पताल लैजाने क्रममा अकस्मात हमला भएर हत्या गरिएको हो ।
अस्पताल नजिकै प्रहरीले घेरिएका अतीक र असरफमाथि पत्रकार भनी आक्रमणकारीले नजिकबाट गोली हानेका थिए र उनीहरुको मृत्युपछि धार्मिक नारा लगाएका थिए ।
प्रहरी हिरासतमा रहेका उनीहरुको हत्या भएको भारतीय सञ्चारमाध्यमले पनि पुष्टी गरेका छन् । विधायक राजू पालको हत्या आरोपमा दुवै जना प्रहरी हिरासतमा थिए ।
बिहीवार यूपी पुलिसले अतीक अहमदका छोरा असद र उनका साथी गुलामलाई इन्काउन्टरमा मारेको थियो ।
यी घटनाक्रमले शान्ति सुरक्षामा खलल पुग्ने देखेपछि प्रदेश सरकारले उत्तर प्रदेशभर धारा १४४ लागू गरेको छ ।
घटनामा संलग्न तीन आक्रमणकारी पक्राउ परेका छन् । यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् र यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् ।
घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको बीबीसीले लेखेको छ । (बीबीसी)

























