काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरुसंग सहकार्य गर्नेहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद बिघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरुसंग सहकार्य गर्ने पार्टीहरुले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका हुन ।
उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरेका छन् । महासचिव पोखरेलले मुलुकलाई अघि बढाउन बाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा राखेका छन् । अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणीत गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उनले बताए ।
महासचिव पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम हुदै गएको बताए । उनले आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप लगाएका छन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला सचिव सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, रानुमैया कार्कीलगायत ३९ जना छन् । उनीहरुलाई एमाले महासचिव पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।