बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा बझाङका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलबार राति ११ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका- ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् । मृत्यु भएकाहरु सबै एकै गाउँका रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जीपमा सवार रहेका ५ जना सकुसल रहेका छन् । जीप सडकबाट खस्ने क्रममा हाम फालेका पाँचै जना सकुसल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् । जीपमा चालकसहित १२ जना सवार थिए ।
घटनास्थलबाट शव ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । उकालो सडकमा गुडीरहेको जीप एक्कासी पछाडि आएको र भिरमा खसेको जनाइएको छ ।
रोजगारीको सिलसिलामा भारतमा रहेकाहरु दुर्घटनामा परेका हुन् । मंसिरको चुनावमा भोट हालेर रोजगारी गर्न भारत गएका उनीहरु नयाँ वर्ष मनाउन घर आउने क्रममा जीप दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।