काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले वित्तीय संस्थामा पुँजी प्रयाप्तता ,बढ्दो रेमिटेन्स,अघिल्लो वर्षको तुलनामा चालु खर्च घाटा सुधारिनुलगायत कारणले वित्तीय क्षेत्र सुरक्षित रहेको बताए ।
गभर्नरले भने,’सानोतिनो धक्काले नेपालको वित्तीय क्षेत्रलाई छुन सक्दैन ।’ मंसिर,पुस,माघ र फागुनमा १ खर्ब रेमिटेन्स भित्रिएको उनले बताए ।
उनले औसत रेमिटेन्स आर्थिक वर्षको प्रत्येक महिना ९९ अर्ब रहेको जानकारी दिए। उनले अघिल्लो वर्षको चालुआर्थिक घाटा उल्लेख्यरुपमा सुधार भएको र फागुन मसान्तसम्म ४४ अर्ब ३१ करोड पुगेको बताए ।
अधिकारीका अनुसार विदेशी विनिमय संचिती सुविधाजनक स्थितीमा आइपुगेको छ । गत असार मसान्तमा १२ सय १५ अर्ब संचिती रहेकोमा अहिले १४ सय १ अर्ब संचिती पुगेको हो। जसले ९.४ महिनाको वस्तु आयात धान्न प्रयाप्त हुने उनको भनाइ छ । उनले अघिल्लो वर्षको तुलनामा मुद्रास्फितीमा भने उल्लेख्य कमी आएको उनले बताए ।

























