काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ ।
गृह मन्त्रालयका सह सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो ।
यसअघि संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भएको थियो । तर, सहमति जुट्न नसक्दा वार्ता निष्कर्षबिहीन हुन पुगेको थियो । आज पुनः सहमतिमा पुग्ने प्रयास स्वरुप वार्ता गर्न लागिएको संघर्ष समितिका संयोजक अबधेस कुशवाहले जानकारी दिए ।
उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।