काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नतिजा देखिने गरी काम गर्न भन्सारका अधिकारीलाई निर्देशन दिएका छन् । भन्सार विभागले सोमबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन् ।
आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको उल्लेख गर्दै अर्थमन्त्री महतले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित दिए।
धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उनले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको जानकारी दिए । उनले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गरे ।
उद्योगी व्यवयायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति आफूहरू संवेदनशील रहेको भन्दै मन्त्री डा. महतले यस विषयमा भन्सारका अधिकारीले पनि ध्यान दिनुपर्ने बताए ।
साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताए । उनले भने, ‘राजनीतिक नेतृत्व यसमा गम्भीर छ । यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन ।’




















