काठमाडौं । नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला–गगन थापा समूहका सांसदहरुको वैठक बस्ने भएको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको बताइएको छ ।
आज दिउँसो सांसदहरुसँग छलफल गर्ने कार्यक्रम रहे पनि समय र स्थान तय भइनसकेको बताइएको छ ।
कांग्रेसभित्रको विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका छैनन् । शेखर–गगन समूहले तीन वटा मन्त्रालय मागेको थियो । तर सभापति शेरबहादुर देउवाले नदिएपछि सो समूहले कुनै पनि मन्त्रीको नाम दिएन । आठ वटा मन्त्रालयको भाग पाएको कांग्रेसका सभापति देउवाले चार जना जनालाई मात्र मन्त्री बनाएका थिए ।
शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन् ।
देउवाले कोइराला समूहका उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बूलाई पनि मन्त्री बनाउन खोजेका थिए । देउवाले उनीहरुलाई मन्त्री बनाउने संकेत पाएपछि महामन्त्री गगन थापासहितका नेताले ३ मन्त्रालय नलिई सरकारमा जानै नहुने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको नामको शपथ पनि रोकेका थिए ।
प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छ । प्रधानमन्त्री दाहालले चाडो नाम दिन सभापतिलाई दवाव दिइरहेको बुझिएको छ ।
देउवाले आफ्नो पक्षका नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने तयारीमा रहेका छन् । त्यसैले शेखर–गगन समूहलाई दुई मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरेका थिए । तर सो समूहले तीन वटा फूलमन्त्री चाहिने दावी छोडेको छैन ।
भागवण्डा मिलाउन अप्ठ्यारो भएपछि देउवाले प्रधानमन्त्री दाहालसँग एक वटा थप मन्त्रालय माग्ने तयारी गरेको स्रोतको दावी छ । जनमत पार्टीले सम्हालेको कृषि मन्त्रालय पनि खाली रहेकाले एउटा मन्त्रालय थप्न प्रधानमन्त्रीलाई समस्या नरहेको देउवाको बुझाइ रहेको एक नेताले बताएका छन् ।