काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता मुद्दाको पेसी आजका लागि तोकिएको छ।
सिन्धुलीका युवराज पौडैल ‘सफल’ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो ।
रविविरुद्ध यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाईसमेत विपक्षी बनाएर रिट हालेका हुन ।
उक्त मुद्दा सुनुवाइ गर्न न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा मंगलबारका लागि पेसी तोकिए पनि उनको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि आजलाई पेसी सरेको हो ।
न्यायाधिश सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेसी तोक्न आदेश दिएका छन् । उक्त मुद्दामा आज पुनः गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने/नबढ्ने निश्चित हुनेछ।