काठमाडौं । पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणको खेल बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि छनोटमा नेपाल र भियतनामले मात्र खेल्न लागेको हो । नेपाल र भियतनामबीचको पहिलो खेल बुधबार दशरथ रंगशालामा साँझ ६ बजे हुने एन्फाले जनाएको छ ।
प्रतियोगीता अघि दुई देशका प्रशिक्षक एवं कप्तानले उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रने जनाएका छन् । खेल अघि मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक अनन्तराज थापाले भियतनाम बलियो विपक्षी भएपनि राम्रो नतिजा ल्याउने बताएका छन् । बलियो टिमसँग खेल्दा नेपाललाई फाइदा हुने र नेपाली खेलाडीका लागि आफूलाई प्रमाणित गर्ने अवसर भएको उनले बताएका छन् ।
त्यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले वरियतामा भियतनाम नेपालभन्दा माथि भएपनि जीतको लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताएकी छिन् ।
त्यस्तै भियतनामका प्रशिक्षक तथा कप्तानले नेपाल आफ्ना लागि बलियो प्रतिष्पर्धी रहेकाले खेलमा कुनै कमजोरी नगर्ने बताए । नेपालले दोश्रो खेलमा चैत्र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।