काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज प्रारम्भिक सुनुवाई हुने भएको छ ।
लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै युवराज सफलले सोमबार दर्ता गरेको रिटमा आज प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको हो ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग रिट निवेदकले गरेका छन् ।
नागरिकता दुरुपयोग गरेको भनी लामिछानेविरुद्ध परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले मुद्दा नचल्ने रायसहित बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो ।
लामिछानेलाई गैरकानुनी रुपमा उन्मुक्ति दिइएको दाबी गर्दै अधिवक्ता सफलले सर्वोच्चमा मुद्दा दायर गरेका हुन ।



















