काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । दलहरु उम्मेदवार चयन र चुनावकेन्द्रित रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।
उपनिर्वाचनको लागि केही दलहरुले उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् भने केहीले आज सार्वजनिक गर्दैछन् । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । चितवन २ मा जीतनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले आज बारा २ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्दैछ ।
त्यस्तै नेकपा एमालेले एमालले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन–२ मा रामप्रसाद न्यौपानेललाई उठाउने निर्णय गरिसकेको छ भने बारा–२ मा उठाउने उम्मेदवार आज तय गर्ने बताइएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ मा रवि लामिछाने, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
वारा २ मा जसपाका उपेन्द्र यादव चुनाव लड्दैछन् भने लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार बन्दैछन् । कुशवाहा यसअघि माओवादीबाट सो क्षेत्रमा निर्वाचन लडेका थिए । पूर्वसांसद समेत रहेका कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याउँदा रामसहाय प्रसाद यादवले १३ हजार ८ सय २२ ल्याएर विजयी भएका थिए। यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा चुनाव हुन लागेको हो ।
१० दलीय गठवन्धनका अधिकांस दलको समर्थन उपेन्द्र यादवले हुने देखिएको छ । जनमत पार्टीले एमालेसँग आफ्ना उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले बताएको छ । तर निर्णय भने भइसकेको छैन ।