कैलाली । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पार्टीका नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको आरोप लगाएका छन् ।
रावललाई पार्टीको गतिविधिमा फर्किन आग्रह गर्दै पौडेलले पार्टीविरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने चेतावनी दिएका छन् ।
१० औँ महाधिवेशनपछि केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि नमानेको बताउँदै पौडेलले त्यसयता अहिलेसम्म पनि रावलले पार्टीको नीति र नेतृत्व नमानेको टिप्पणी गरेका छन् ।
विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको पदाधिकारीको हैसियतले रावलले हाल पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको पौडेलले बताएका छन् । पार्टीको निर्णय नमानेर अनुशासन उल्लंघन गरेको बताउँदै पौडेलले पार्टीलाई कमजोर पार्ने, गतिविधि रावलबाट भइरहेको आरोप पनि लगाएका छन् ।