काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुने बताएका छन् ।
बिहीबार चितवनस्थित भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताएका हुन । उनले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने जिकिर गरेका छन् । प्रधानमन्त्री प्रचण्डले थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिटै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिएका छन् ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर–१५ मा बनाउन सुरु गरेको गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माैण बजेट अभावमा २०७८ साउन २२ गतेदेखि पूर्णरुपमा रोकिएको छ।
आवश्यक र प्रतिवद्धता अनुसारको रकम संकलन नभएपछि रंगशाला निर्माण रोकिएको हो । फाउन्डेशनलाई १८ करोड ऋण रहेको छ । सो ऋण सरकारले तिरेर पूर्ण स्वामित्व लिन सिताराम कट्टेल धुर्मुसले आग्रह गर्दै आएका छन् ।




















