काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि गठवन्धनबीच मन्त्रालयको भागवण्डा मिलिसकेको छैन ।
केही दलहरूले पाउने मन्त्रालयको टुंगो लागिसकेको र नटुंगिएका दलहरूसँग २ बजे छलफल गरेर टुंगो लगाउने गरी प्रधानमन्त्री दाहाल चितवन उडेका छन् । चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टर चढेर चितवन गएका हुन् ।
सबै पार्टीले आ–आफ्नो प्रक्रियाबाट टुंगो लगाएर संस्थागत निर्णय गरेर मन्त्रीहरुको नाम दिने र आज साँझ शपथ गराउने तयारी भइरहेको बताइएको छ ।
आठ वटा मन्त्रालय पाउने कांग्रेस उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउन लागेको छ ।
त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत बन्ने भएका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको बुझिएको छ ।
श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा वेदुराम भुसाल नियुक्त हुँदैछन् ।