काठमाडौँ । मन्त्रालय भागबन्डामा सहमति जुटाउन नसक्दा मन्त्रिपरिषद् विस्तार विलम्व हुँदै गएको छ । १० दलीय गठवन्धनमा मन्त्रालयको संख्या र मालदार मन्त्रालयमा सवैको दावी गर्दा भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सकस परेको छ ।
मंगलबार बसेको वैठकमा सहमति जुट्न नसकेपछि आज विहान ९ बजेका लागि वैठक बस्ने सहमति भएको थियो । प्रधानमन्त्री निवास बालुवटारमा बस्ने वैठकले सहमतिको प्रयास गर्ने छ ।
हिजोको छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गर्दा सहमति जुट्न नसकेको बताइएको छ ।
आज बस्ने वैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा पनि छलफल हुने बताइएको छ । हिजोको वैठकमा प्रधानमन्त्री प्रचण्डले तयार गरेको न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।