काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्तीकरणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौँमा आज अन्तिम सुनुवाइको पेशी तोकिएको हो ।
गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो। यसअघि शुक्रवार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो ।
सरकारी पक्षले पीडित नाबालिग रहेको र सन्दीपले जबरजस्ती करणी गरेको दाबी गर्दै आएका छन् भने सन्दीपका कानुन व्यवसायीले जबरजस्ती करणी नभएको र पीडित भनिएकी युवती नाबालिग नरहेको तर्क गर्दै आएका छन् ।
यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले पनि फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले अन्तिम सुनुवाइ तत्काल टुंग्याउने सम्भावना छ ।
लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।
उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो । त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो ।