काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जानुहुने भएको छ । राष्ट्रपति बनेपछि उहाँ पहिलो पटक काठमाडौं बाहिर जान लाग्नु भएको हो ।
बिहान ९ः३० बजे गोरखा जानु हुने राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा जानु हुनेछ । उहाँको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार राष्ट्रपति पौडेल आउ–जाउ गर्ने सडकको यातायात, मन्दिरमा दर्शन गर्ने बेलामा होस् सर्वसाधारणलाई असर नपुग्ने गरी आवश्यक प्रबन्ध मिलाइएको छ ।