काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको २०७८ सालमा गरेको जनगणनाको पूर्ण विवरणमा उक्त कुरा उल्लेख छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनसंख्याको पूरा विवरण सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको छ। त्यसमा ४८ दशमलव ९ प्रतिशत पुरुष र ५१ दशमलव १ प्रतिशत महिला रहेको प्रतिवेदनले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कूल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।
नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ। वि.सं. २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।
पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यलयका उपप्रमुख डा. हेमराज रेग्मीले बताएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ । साथै मातृ मृत्यु प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।