काठमाडौँ । नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती निर्णय फिर्ता लिने भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।
बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेपछि किसान तथा सरोकारवालाहरुले निर्णय फिर्ता लिन दवाव दिँदै प्रदर्शन गर्दै आएका थिए भने विपक्षी राजनीतिक दलहरुले पनि किसान मारा निर्णय फिर्ता लिन माग गरेका थिए ।
नेकपा (एमाले)ले आइतवार पत्रकार सम्मेलन गर्दै रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको थियो ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका थिए ।
आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराएका थिए ।
महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्यो भन्दै सरकारलाई प्रश्न समेत गरेका थिए ।