काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री भएपछि उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन । पुस १० गते उनलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर बुझाएका नेकपा एमाले र राप्रपाले विश्वासको मत फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरूप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने थियो ।
प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिने संसद् सचिवालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए । प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदा संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये २६८ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । तर प्रधानमन्त्री भएको दुई महिनामै छिमेकी मुलुक भारत र नेपाली कांग्रेसलाई खुशी बनाउन पुस १० को सहमति उल्लंघन गर्दा उनीप्रति जनताको विश्वास गुम्ने अवस्थामा पुगेको छ भने सांसदहरुको विश्वास पनि घट्ने भएको छ ।
आज उनले आवश्यक मत पाए पनि पहिलेको तुलनामा निकै घट्ने छ । नेकपा एमाले ७९, राप्रपा १४, नेमकिपा १ र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डल विश्वासको मतको विपक्षमा रहने देखिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय तयार भएको गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९ मध्ये ८६ मत (रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेको र टेकबहादुर गुरुङमा निलम्बनमा परेको ।), माओवादी केन्द्रका ३२ मध्ये ३१ मत (वर्षमान पुन उपचारका लागि चीनमा रहेको ।), जनता समाजवादी पार्टी (जसपा) का १२ मध्ये १० मत (रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेको र शहनाज रहमानको निधन भएको), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० मध्ये १९ मत (सभापति रवि लामिछाने सांसद पदबाट मुक्त भएको), एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ४, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंह २ ले दाहाललाई विश्वासको मत दिने देखिन्छ ।