विराटनगर । कोशी’ प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा उत्रिएका पहिचानवादीको प्रदर्शनले उग्र रुप लिएको छ ।
प्रदर्शनकारीले रोडशेष चोकको निषेधाज्ञा तोडेपछि प्रहरीले चार राउन्ड हवाइ फायर गरेको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रसग्याससमेत प्रहार गरेको छ ।
आन्दोलनकारी मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढेपछि रोक्न प्रहरीले बल प्रयोग गरेको छ भने चार जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।
प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन् । आज वृहत प्रदर्शन गर्ने कार्यक्रम बनाएपछि प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।