काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिकभन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिले साँठगाँठको प्रणाली भएको बताएका हुन । उनले कांग्रेससंगको सहकार्यका बिषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गरेका छन् ।
आफ्नो कांग्रेससंग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केही नेताहरु त्रसित भएको ओलीले बताए । एक जना चर्का कांग्रेस (गगन थापा) ले कति सालपछि प्रतिपक्षमा भेट होला भनेर अभिव्यक्ति दिएको र यसले कांग्रेसभित्रै ठुलो गडबडी रहेको हुनसक्ने ओलीको भनाइ छ ।
त्यस्तै उनले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्र लगाएत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गरेका छन् ।
ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन बिधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताएका छन् ।