काठमाडौं । आज हुने उपराष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने भएको छ ।
यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।
बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको थियो ।
राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।
उता उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ । शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा वैठक बस्ने छ ।
शुक्रबार नै १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार छन् ।
प्रमिलाले उम्मेदवारी फिर्ता लिएको र रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनको समेत नाम छ ।