नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनु भएको छ ।
निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पद हस्तान्तरण गरेर बिदा हुनु भएको छ । विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेका छन् ।
बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले भण्डारी जेठी छोरी उषाकिरणको घरमा जानु भएको छ । उहाँले सेनाको टोलीले घरमा पुर्याएको छ ।
यसअघि देवर कैलाश भण्डारीको घरमा सर्ने तयारी थियो । तर, त्यहाँ सुरक्षाकर्मी बस्ने ठाउँ नभएपछि भण्डारी आफ्नो घर निर्माणको काम नसकेसम्म छोरीको घरमा बस्नु भएको हो ।
२०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा निर्वाचित भएपछि भण्डारी देवर कैलाश भण्डारीकै घरबाट शीतल निवास जानु भएको थियो । २०७४ फागुन २९ मा दोस्रो कार्यकाल निर्वाचित भण्डारी सात वर्षपछि शीतलनिवास छाड्नु भएको हो ।