दाङ । घोराहीमा एक महिलालाई जबर्जस्ती सामूहिक करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । गएको शुक्रबार राति घोराही १७ मा २९ वर्षीय एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा घोराही उपमहानगर १७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
३ महिनाअघि आफ्ना श्रीमान्को उपचारका लागि ती महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् । श्रीमानको उपचार गर्दा पैसा सकिएपछि पतिपत्नी घोराहीमा मागेर जीविकोपार्जन गर्दै आएका थिए ।
माग्न हिँड्ने क्रममा उनीहरु घोराही १७ बेलभारस्थित गजु चौधरीको घरमा पुगेपछि शुक्रबार राति चौधरीकै घरको आँगनमा बास बसेका थिए । पतिसँग सुतिरहेको अवस्थामा निर्मल र मनोजले महिलाका पतिलाई कुटपिट गरी महिलालाई लतार्दै २५ मिटर पर लगेर सामूहिक करणी गरेको पाइएको प्रहरीले जनाएको छ।
पीडितको जाहेरीको आधारमा उनीहरूउपर जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बताएका छन् ।
आइतबार दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।