काठमाडौं । राष्ट्रपतिको सरकारी निवास समेत रहेको कार्यालय शीतल निवासमा आज नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल प्रवेश गर्नुहुने छ भने निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइ गरिने छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेल आज बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्नुहुने भएको छ भने निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट वालुवाटारस्थित छोरीको निवासमा सर्नुहुने छ । उहाँलाई ससम्मान निवाससम्म लगेर छाडिने राष्ट्रपति कार्यालयले जनाएको छ ।
भण्डारीको कार्यकाल गएराति १२ बजेबाट सकिएको छ भने पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो । पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको शीतल निवासबाट बिदाइ हुनेछ भने पौडेलको प्रवेश हुने छ ।
शपथ ग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनाहरुलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ राष्ट्रपति पौडेल शितल निवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिने छ । त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनु हुनेछ ।
त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिने र बधाई दिनुहुनेछ ।
वर्तमान राष्ट्रपतिको स्वागतमा जस्तै निवर्तमान राष्ट्रपतिलाई पनि विदाइमा २१ तोपकै सलामी दिइने राष्ट्रपति कार्यालयले जनाएको छ ।
भण्डारी निजी निवास बुढानीलकण्ठमा सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लाग्नु भएको हो । २०७२ को भूकम्पले क्षति पुगेको बुढानीलकण्ठको घर मर्मत कार्य फागुन २० गतेभित्रै सक्ने भनिए पनि सकिएको छैन् ।