काठमाडौँ । नेपालले युनाइटेड अरब इमिरेट्स(यूएई)लाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय स्टाटसलाई जोगाएको छ । कीर्तिपुरमा आइतबार भएको खेलमा नेपालले यूएईलाई ७१ रनमै अलआउट गरेको हो ।
जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ । एक दिवसीय खेलमा १७७ रनको अन्तरले आइतबार नेपालले कीर्तिमानी जित हासिल गरेको हो ।
नेपालको जितका लागि ललित राजवंशीले २० रन दिएर ५ विकेट लिएका छन् । यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले १-१ विकेट लिएका थिए ।
यूएईका लागि आयान अफजल खानले २९ रन, विश्वनाथ भाल्थापाले १४ र कार्तिक मेइयाप्पाले ११ बनाएका थिए । त्यसबाहेक यूएईका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन । २२ रनमा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रन बनाएका थिए । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियो ।
नेपालका आरिफ शेख ४३ रन बनाएर आउट भए भने गुल्शन झाले ३७ रन बनाए । त्यस्तै भीम सार्की ३७ बलमा ४ चौका प्रहार गर्दै २९ रन बनाउन सफल भए । नेपालको तर्फबाट यसअघि ब्याटिङमा आएका कुशल भुर्तेलले १५ बलमा ८ रन बनाएर बाहिरिए भने अर्का ब्याटर कुशल मल्ल पनि १५ बलमा ९ रन बनाएर बाहिरिए ।
यूएईका तर्फबाट आयन अफजल खान‚ जहुर खान‚ रोहन मुस्तफा र जवर फरिदले २/२ विकेट लिए भने जुनैद सिद्दिकी र आर्यन लाक्रा १/१ लिन सफल भए । आइतबारको खेलमा टिम नेपालबाट दुई खेलाडी परिवर्तन गरिएको थियो ।