काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जानु हुने भएको छ । बिहान ९ बजे पशुपतिनाथ मन्दिरमा पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने बताइएको छ ।
पशुपति दर्शनपछि राष्ट्रपति पौडेल सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।
बिहीबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित हुनु भएका पौडेलले आज बिहान ८ बजे सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
राष्ट्रपति निर्वाचित भएलगत्तै उहाँले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको निवासमै पुगेर भेटवार्ता गर्नु भएको छ ।
यसैवीच निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझापछि पद हस्तान्तरण प्रक्रिया सुरु हुने बताइएको छ ।
२८ फागुनमा राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुने भएकाले त्यसलाई ध्यानमा राखेर नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणको मिति तय गरिने राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाले जानकारी दिएका छन् ।
संविधान अनुसार राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनेछन् । अहिले प्रधानन्यायाधीश पद रिक्त भएकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नै राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।