काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५ बल खेल्न बाँकी छदा २९७ रनमा अलआउट भयो ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो। नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन जोडेको थियो । २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो ।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गरे। उनको यो पहिलो एकदिवसीय शतक हो ।
खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को साझेदारी गर्यो। नेपालले ओपनर कुशल भुर्तेललाई १८.४ ओभरमा गुमायो। ४५ रनमा आउट भएका कुशलले ५६ बल खेलेर ६ चौका हिर्काए ।
नेपालले बाँकी ३० रन बनाउदा थप दुई विकेट गुमायो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए ।
कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट भए। करण केसी ६ बलमा ८ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए ।
भीम सार्की ३८ बलमा ४४ रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे ।
बलिङमा पिएनजीका सेमो कामियाले ५ विकेट लिए। उनले ९.१ ओभरमा ३८ रन खर्चिए ।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।
सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ ।
पाँचौ स्थानको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ । पुछारको पिएनजीको ३२ खेलबाट ९ अंक छ ।