काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नेकपा माओवादी केन्द्रले सुदुरपश्चिम संसदीय दललाई निर्देशन दिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताएका छन् । राष्ट्रिय आवश्यकताले केन्द्रमा गठवन्धन बनेको र यो गठबन्धन टुट्न नहुने भएकाले कांग्रेसका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन र मिलेर अघि बढ्न केन्द्रले निर्देशन दिएको भट्टले बताएका छन् ।
हिजो बसेको माओवादी केन्द्रको सुदुरपश्चिम संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालयको भागबन्डा प्याकेजमा हुनुपर्ने भट्टको माग थियो ।
संसदीय दलका नेता खगराज भट्टले भागबण्डा पनि केन्द्रबाटै टुंगिएको बताउँदै अब संसदीय दलको बैठकले निर्णय गरेपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ साँसदको आवश्यकता पर्दछ ।
कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन् । प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ सांसद छन् । सुदुरपश्चिममा कांग्रेस र माओवादी मिल्दा पनि विश्वासको मत पुग्ने छ ।