काठमाडौं । शान्ति प्रक्रियामा आएसँगै छिन्नभिन्न भएका माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा भेला हुने भएका छन् । शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रिर्या कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुँदैछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १२ बजे आयोजना हुने अन्तर्क्रिया कार्यक्रम नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरु कार्यक्रममा सहभागी हुने शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले जनाएको छ ।



















