चितवन । पुल निर्माणका लागि भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा बन्द गरिदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो ।
सवारीसाधन रोकेर पाँच ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको र तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको आचार्यले बताएका छन् ।
तुइन खोलाको पुल निर्माणका लागि काट्नु पर्ने ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो अझै ४० मिटर काट्न बाँकी रहेको बताइएको छ ।
चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टकिो भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ भने सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् ।
यसअघि नै सो सडकखण्डका पाँचवटा पुल बनिसकेका थिए । थप पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको बताइएको छ ।
विश्व बैंकको सहयोगमा बनाउन थालिएका पुल २०८० पुस ९ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै एक वर्ष समय थप गरिएको हो । पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।



















