काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन लिखित समझदारी खोजेको छ ।
सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको भागबण्डामा नागरिक उन्मुक्ति पार्टीले लिखित प्रतिबद्धता मागेको हो । पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले सामाजिक सञ्जालमार्फत् विश्वासको मत दिन लिखित प्रतिबद्धता चाहिने माग गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत दिन सकिँदैन।’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाही आइतबार विश्वासको मत लिने तयारीमा छन् । नेपाली कांग्रेसका शाही गत माघ २६ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
त्यसअघि प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेका राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
नेकपा (एमाले) संसदीय दलका नेता रावलले नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादीका ११ (सभामुखसहित), नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन् । विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ ।





















