काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद विघटन ठीक रहेको अभिमत दिएपछि आफुले नयाँ बिकल्प खोजेको बताएका छन् ।
आठ दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले बिहीबार काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठीक रहेको बिचार व्यक्त गरेपछि आफुहरु सोच्न बाध्य भएको र नयाँ बिकल्प खोजेको दावी गरेका छन् ।
दाहालले विकास र समृद्धिको जनचाहना सम्बोधन गर्ने चाहना भएपनि बिचमा अलिकति अल्मलिएको र अव ठिक ठाँउमा आएको धारणा राखेका छन् । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जीत सुनिश्चित रहेको र यो लोकतन्त्र र संविधानको हितमा रहेको बताए ।
त्यस्तै अभिमुखी कार्यक्रमपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिका कतव्र्य र जिम्मेवारीहरुको बिषयमा प्रस्टता आवश्यक रहेको बताएका छन् । उनले अवको राष्ट्रपतिले मुलुकलाई एकतावद्ध बनाएर जानुपर्ने भन्दै पौडेलको पक्षमा भोट दिने उल्लेख गरेका छन् ।
पौडेलको पक्षमा आठ दलको मात्रै नभई १० दलको समर्थन रहेको र स्वतन्त्र सांसदहरुको पनि समर्थन रहेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिएका छन् । आठ दलले राष्ट्रपतिमा अघि सारेको उम्मेदवारका बिषयमा स्पष्ट पार्न अभिमुखी करण कार्यक्रम गरिएको उनले बताए । उनले पौडलको पक्षमा अझै समर्थन बढ्ने दावी गरेका छन् ।
त्यस्तै आठ दलका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलले संविधानको परिधिभित्र रहेर आफुले काम गर्ने बताएका छन् । उन अहिलेसम्म सवैदलबाट आफुलाई सहयोग गर्ने प्रतिवद्धता आएको बताएका छन् ।
कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ लगाएतले राष्ट्रपतिमा भारी मतका साथ बिजयी गराउनुपर्ने धारणा राखेका थिए । राष्ट्रपतिको निर्वाचन आगामी फाल्गुन २५ गते हुँदैछ ।



















