काठमाडौं । प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईले नेपालको प्रजातन्त्र स्थापनार्थ पुर्याएको योगदानको स्मरण गरिएको छ ।
प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको ११४ औं जन्मजयन्तीका अवसरमा रामप्रसाद राई स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले राणाकालीन अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनार्थ राईले पु¥याएको योगदान अविष्मरणीय रहेको बताएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहास यथार्थपरक ढंगले आउन नसकेको र रामप्रसाद राईका चाहनाहरु पूरा गर्ने गरि व्यबस्थामा परिवर्तन भएपनि अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् ।
बिभिन्न स्थानमा पुगेका पात्रहरुले व्यवस्थाका साथै अवस्थालाई पनि परिवर्तन गर्न लागिरहेको उनले बताएका छन् ।
उनले राईको योगदानको लिखत कृति प्रकाशित गर्नुपर्ने बताएका छन् । सात सालमा प्रजातन्त्र आएपछि पनि त्यो आफूलाई मान्य नहुने भन्दै सिंहदरबारमा विरोध गर्न पुगेका राई २००८ साल माघ ८ गते सिंहदरबारबाटै बेपत्ता भएका थिए ।



















