काठमाडौँ । कोशी प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्ले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका वासिन्दालाई वधाई ज्ञापन गरेको छ भने बिहीबार सार्बजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रदेशसभामा बुधबार भएको मतदानमा कोशी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो । कोशी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादीले मतदान गरेका हुन् ।
विपक्षमा ४ मत खसेको छ । मतदानमा ८६ जना सांसद सहभागी थिए । ६ जना अनुपस्थित भए ।
प्रदेशको नाम कोशी राख्नका लागि नेकपा एमालेको तर्फबाट सांसद रामबहादुर मगरले प्रस्ताव पेस गरेका थिए ।
सात प्रदेश मध्ये ६ वटा प्रदेशले अघिल्लो कार्यकालमै आआफ्ना प्रदेशको नाम राखेका थिए । तर प्रदेश १ को नाम पहिचानका आधारमा राख्ने कि भूगोलका आधारमा भन्ने विवादले रोकिएको थियो ।


























