काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले बिहीबार आफ्ना संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ ।
दिउँसो १ बजे तीनकुनेस्थित एक ब्याङ्क्वेटमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यहरूलाई बोलाइएको छ। उनीहरुलाई आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला पनि बोलाइएको छ । भेलालाई आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय पनि भएको छ।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उमेदवार छन् । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उठाएको छ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।



















