भैरहवा । प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन ।
भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरिक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरिक्षक, २ जना प्रहरी नायब निरिक्षक, १ जना प्रहरी बरिष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो ।
यस्तै यसै अवधिमा ६ जनाले राजिनामा, ४ इन्सपेक्टर सहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले भने ।
प्रहरीले कारवाही मात्र नगरि राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्सपेक्टर सहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरिक्षकमा ३ जना, प्रहरी नायब निरिक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ ।
आर्थिक वर्ष २०७८/७९मा ७ जना ले राजिनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारावाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले भने ।