काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी बजारमा भित्र्याउने सरकारको कदमप्रति विरोध जनाउँदै राजधानीमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले बुधवार एक विज्ञप्ति जारी गरी सो कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् भने विद्यार्थीहरुले त्रिचन्द्र कलेज अगाडि तरकारी फालेर विरोध जनाएका छन् ।
विज्ञप्तिमा सरकारले विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु दुःखद रहेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ – ‘विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनि भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुःखद पक्ष हो ।’
सरकारको यस किसिमको रवैयाप्रति अनेरास्ववियूले सबै किसानहरुलाई आन्दोलनमा उत्रिन समेत आह्वान गरेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले २०७६ साल असार २ गते भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवेशष परीक्षण सुरु गरेको बताउँदै सो संगठनले तर हाल जीवनाशक विषादी अवेशषको अधिकतम सीमालाई निश्क्रिय बनाउने काम भएको आरोप समेत लगाएको छ ।
त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गर्दै अनेरास्ववियुका विद्यार्थीहरुले किसान मार्न पाइदैन, भारतीय दलाल होसियार, जनतामार सरकार मुर्दावाद जस्ता नारा लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका छन् ।



















