विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि हुन सक्ने विरोध रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भूगोलका आधारमा प्रदेशको नाम कोशी राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गरेको छ । प्रदेशको नामकरणको तयारी भएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ ।























