विराटनगर । प्रदेश १ को नाम कोसी राख्न बुधबार नेकपा एमालेले प्रदेशसभा सचिवसमक्ष प्रस्ताव पेस गरेको छ । प्रस्ताव पेसका लागि प्रदेशसभा सचिवालयले दिएको दिउँसो १ बजेसम्मको समयसीमाभित्र एमालेका तर्फबाट कोसी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।
एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।
प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’
यसैबीच माओवादी केन्द्र संसदीय दलको बैठकले कोसी नाममा भोट हाल्ने निर्णय गरेको छ। माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले बैठकले कोसी प्रदेशमा भोट हाल्ने निर्णय गरेको बताएका छन् । नेकपा एमाले र कांग्रेसका संसदीय दलको बैठक जारी छ।

























