काठमाडौं । वैशाख २ गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका अनुुसार उपनिर्वाचनका लागि फागुन १० गतेदेखि १६ गतेसम्म तोकिएको समयमा १८ दल दर्ता भएका हुन ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दल दर्ता गरेका छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रास्वपाका सभापति रवि लामिछाने प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर गत माघ १३ गते रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले चितवन २ बाट निर्वाचित उनको सांसद पद खारेज गरिदिएको थियो ।
माघ १५ मा उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
६ महिनाभन्दा बढी कार्यकाल रहँदै सांसदको पद रिक्त हुन गएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था अनुसार आगामी वैशाख २ गते चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि आगामी चैत २० गते उम्मेदवारी दर्ताको तालिका रहेको आयोगले जनाएको छ ।



















