विराटनगर । सात प्रदेश मध्ये नाम राख्न बाँकी रहेको प्रदेश १ को नामकरण (न्वाराना !) आज गर्ने तयारी दलहरुले गरेका छन् । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश नै पाएको थिएन । दलहरुले नामको विषय टुङ्गो लगाउन गृहकार्य तीव्र बनाएको र आजको प्रदेशसभा वैठकमा प्रस्तावित नाम टेवल गर्ने सहमति भएको बताइएको छ ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार प्रदेशसभामा आजै नामको विषयले औपचारिक रुपमा प्रवेश पाउने छ ।
नामको विषयमा दलहरुबीच अनौपचारिक छलफल चलिरहेको र दिउँसो संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भए आजै नामको विषय टेबल हुने उनले बताएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताएका छन् ।
नाम टुङ्गो लगाउने विषयमा दलहरु एक मत भएपनि के नाम प्रस्ताव गर्ने भन्ने मतभेद कायमै छ । दलहरुबीच कोसी र किराँत नाममा छलफल केन्द्रित छ । दलहरुबीच कोसी नाममा सहमति हुने सम्भावना प्रवल बनेको एक नेताले बताएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नै नेतृत्वमा नामको टङ्गो लगाउन गृहकार्य गरेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीसँग बालुवाटारमा भएको भेटमा प्रदेश १ को नाम राख्न ढिलाइ भएकोमा चासो राखेका थिए ।
नामकरणको विषयमा हल्ला खल्ला हुँदा हुँदा अनावश्यक प्रभाव र दबाब आउन सक्ने सम्भावना भएकाले गोप्यमा छलफल भएको श्रोतले जनाएको छ ।
नेपालको संविधानमा प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको संसद् छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।
प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुंगो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।
विश्वले चिन्ने ‘सगरमाथा’ जस्तो उत्कृष्ट नाम हुँदाहुँदै दलहरुबीच अनावश्यक विवाद गर्नु उपयुक्त नहुने र सगरमाथा राख्दा अझ धेरै गौरव महसुस हुने जनचाहना देखिन्छ ।
























