काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो ।
परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।
मन्त्रिपरिषद्बाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको भन्दै यसै सन्दर्भमा छलफल गर्नका लागि सचिवालयको बैठक बसिरहेको हो । एमालेले यहि बैठकबाट सरकार छोड्ने निर्णय गर्न सक्नेछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने जानकारी दिएका छन् ।
नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।