काठमाडौं । तनहुँस्थित जेलमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराले सफाइ दिएपछि उनी आज रिहा हुने भएका हुन ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार रिहा हुने जानकारी दिएका छन् ।
एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई तनहुँमा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएपछि फागुन १५ गते उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।
उनी गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।
आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।
फैसलामा बलात्कारको उजुरी परे पनि शाहले प्रहरी र अदालत दुवैमा आरोप अस्वीकार गरेको र जाहेरवालीले अदालतमा उजुरी झूटो भएको बकपत्र गरेकोलाई प्रमाणका रुपमा हेरिएको छ । यस्तै जाहेरवालाले घटनाको ५ महिनापछि शाहलाई गरेको म्यासेज, शाहको पोलिग्राफ परीक्षणलाई पनि प्रमाणका रुपमा हेरिएको छ ।
आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह सोमबार रिहा हुन लागेका हुन् । दाङ स्थायी ठेगाना भएका शाह रिहा भएपछि काठमाडौं आउने बताइएको छ ।