काठमाडौँ । कप्तान रोहित पौडेलले जिम्मेवारी इनिङ्स खेलेपछि नेपालले विश्वकप लिग-२ मा स्कटल्यान्डमाथि २ विकेटको सनसनीपूर्ण जित हात पारेको छ । रोहितले अविजित रन बनाएपछि नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गर्यो ।
रोहित र करण केसीले नवौं विकेटमा अविजित ७५ रनको साझेदारी गर्दै नेपाललाई स्मरणीय जित दिलाए । नेपालले लिग-२ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो ।
सातौं ओभरमा नेपाल १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले अविजित ९५ रन बनाए । उनले १ सय १ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । करणले अविजित ३१ रन बनाउँदा ३७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।
नेपालको सुरुवात राम्रो थिएन । कुशल भुर्तेल १ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । ज्ञानेन्द्र मल्लले २१ रन जोडे । रोहितले एउटा छेउमा टिकिरहे पनि अर्को छेउटबाट निरन्तर विकेट झरिरह्यो । कुशल मल्लले एउटा लामो छक्का प्रहार गरे पनि उनी धेरैबेर टिकेनन् । उनले २८ बल खेली १ चौका प्रहार गर्दै २७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भए ।