काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले सम्भावित शान्ति सम्झौताका लागि रुसलाई आफ्नो भूभाग दिन नसकिने बताएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । उनले रुसलाई जमिन दिनु भनेको उसलाई बोलाइरहनु भएको बताए । उनले पश्चिमा मुलुकको हतियारको सहयोगमा शान्ति कायम हुने विश्वास पनि व्यक्त गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले वसन्त यामको आक्रमण सुरु भइसकेको बताएका छन् । उनले गत हप्ता बेलायत र युरोपेली युनियनका नेताहरूसँग भेटेका थिए । उनले राष्ट्रको रक्षाका लागि भन्दै आधुनिक हतियार सहयोग मागेका थिए । उनले आधुनिक फाइटर जेटसमेत सहयोग माग गरेका छन् ।
जीवनमा कैयौँ सम्झौता हुने गरे पनि रुससँग भने सम्झौता हुन नसक्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ छ । युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनी भन्छन् , ‘अहिले हाम्रो अस्तित्वको रक्षा नै हाम्रो एकता हो । मलाई विश्वास छ युक्रेन आफ्नो अस्तित्वका लागि लडिरहेको छ ।’
रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति आफूलाई विश्वास नभएको पनि उनी बताउँछन् । उनी भन्छन्, ‘कोसँग सम्झौता गर्ने ? पुटिनसँग ? अहँ, विश्वास नै छैन । संवाद, उनीसँग ? अंह, विश्वास नै छैन ।’
आगामी फेब्रुअरी २४ मा युक्रेन-रुस युद्धको एक वर्ष पूरा हुँदैछ । तर पनि शान्ति स्थापनाको कुनै छाँटकाँट देखिँदैन । युद्ध सुरु भएयता दुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन । गत सेप्टेम्बरमा रुसी रक्षामन्त्री सेर्गेई सोइगुले करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको बताएका थिए । त्यसयता रुसले क्षतिको कुनै जानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजारसम्म युक्रेनी सैनिक मारिएको बताएका थिए । उनले वास्तविक तथ्यांक भने राष्ट्रपति जेलेन्स्कीले मात्रै दिन सक्ने बताएका थिए ।
युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा १ लाख सैनिकको मृत्यु भएको हुन सक्ने बताएको छ । सर्वसाधारणतर्फ कति क्षति भयो भन्ने यकिन विवरण स्वतन्त्र तवरले आएको छैन । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयोगले पनि युक्रेनमा १८ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

























