काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको बुझिएको छ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति खाना खाएर सुतेका बेला भएको ग्यास विस्फोटमा परेर जलेका भण्डारी आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।
परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।
२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर गरेको चिकित्सकहरुले बताएका छन् ।



















